काठमाडौं । रसुवागढी टनेलभित्र फसेका व्यक्तिहरूको अवस्था पत्ता लगाउन थर्मल ड्रोनमार्फत खोजी तथा निगरानी गरिएको छ । ड्रोन र नेपाली सेनाको टोली पुग्न सकेको स्थानसम्म गरिएको खोजीका क्रममा हालसम्म सतहको भागमा कोही पनि फेला नपरेको जनाइएको छ ।
बाढीपहिरोका कारण टनेल क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । टनेलभित्रको अवस्थाबारे जानकारी लिन थर्मल प्रविधिसहितका उपकरण प्रयोग गर्दै सम्भावित स्थानमा खोजी भइरहेको छ ।
ड्रोन तथा सेना पुग्न सकेको क्षेत्रसम्म तत्काल कुनै व्यक्ति फेला नपरे पनि उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ । टनेलभित्र फसेकाहरूको वास्तविक अवस्थाबारे थप जानकारी लिन प्राविधिक टोलीले टनेलको भित्री भागको निगरानी र मूल्यांकन गरिरहेको छ ।
उद्धारका लागि नेपाली सेना तथा अन्य सुरक्षा निकायका टोली परिचालन गरिएका छन् । कठिन भौगोलिक अवस्था र टनेलमा भएको क्षतिका कारण उद्धारमा चुनौती देखिए पनि सम्भावित सबै स्थानमा खोजी जारी राखिएको छ ।
