काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । हालसम्म १५७ जनाको शव फेला परेको छ भने सुरक्षाकर्मी, पर्यटक, कामदार तथा कर्मचारीसहित सयौँ प्रभावित भएका छन् ।
बाढीबाट ८५ सुरक्षाकर्मी (४४ सेना, २८ प्रहरी र १३ सशस्त्र प्रहरी), ४८४ पर्यटक (३९१ विदेशी र ९३ स्वदेशी) तथा जलविद्युत क्षेत्रमा कार्यरत सयौँ कामदार प्रभावित भएका छन् । गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन छन् ।
बाढीले १९ मोटरेबल पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ । विद्युत् र सञ्चार सेवा अवरूद्ध हुँदा ७४८ मेगावाटका सम्पन्न तथा निर्माणाधीन जलविद्युत आयोजना प्रभावित भएका छन् ।
सरकारले प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । उद्धार तथा राहतका लागि भारत, चीन र विश्व बैंकलगायतबाट सहयोगको प्रतिबद्धता आएको छ भने सम्पर्कविहीनको विवरण संकलन जारी छ ।
