काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गर्नुभएकाे छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसद्को अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै राजीनामा माग्नुभएकाे हाे ।
प्रधानमन्त्री बालेनमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप उहाँले लगाउनुभएकाे छ ।
त्यसका लागि उहाँले चार वटा कारण प्रस्तुत गर्नुभएकाे छ । नीति तथा कार्यक्रमको समयमा अनुपस्थिति रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको साम्पाङको आरोप छ ।
‘आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ ?’ विज्ञप्तिमा साम्पाङले भन्रुभएकाे छ, ‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ ।’
