काठमाडौँ । बर्सौंदेखि छाप्न बाँकी रहेका १२ लाखप्रति स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको छ । सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच भएको पहिलो चरणको सम्झौता अनुसार उक्त छपाइ सम्पन्न भई वैशाख १४ गते औपचारिक कार्यक्रमबाट हस्तान्तरण गरिएको छ ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार दोस्रो चरणमा थप १७ लाखप्रति लाइसेन्स छाप्ने काम भइरहेको छ, जसको सम्झौता वैशाख ४ गते भएको थियो । असार मसान्तसम्म यो काम सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो । साउन १ गतेबाट लाइसेन्स छाप्न बाँकी समस्या सदाका लागि समाधान हुने र नागरिकले रसिद बोकेर हिँड्नु नपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
विगतमा दैनिक चार हजार मात्र छापिँदै आएकोमा हाल झन्डै चालिस हजारप्रतिसम्म छापिन थालेपछि यो समस्या समाधान हुने भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि छपाइ कार्य तीव्र पारिएको थियो ।
