रौतहटमा कर्फ्यु, १८ जना पक्राउ

राैतहट । रौतहटको गौर नगरपालिका–६ सवगढामा शनिबार बिहान पुनः दुई पक्षबीच झडप भएको छ ।

शनिबार बिहान करिब सवा ९ बजेतिर करिब ४–५ सय जनाको समूहले ढुंगा–मुढा गरेपछि अवस्था तनावपूर्ण बनेको हो ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले हवाई फायर र अश्रुग्यास प्रहार गरेका छन् भने स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानिय प्रशासनले कफ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी कर्फ्यू आदेश अनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिकाको पूर्वः मुडबलवा गेट ​पश्चिमः लालबकैया बाँध ​उत्तरः बम नहरदक्षिणः गौर भन्सार कार्यालय भित्र कर्फ्यू जारी भएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको यस आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेको छ । ​घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको नेतृत्वमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तीन दिनअघि विवाहको जन्ती जाने क्रममा दुई समुदायबीच सुरू भएको सामान्य विवादले उग्र रूप लिएको थियो । सोही विषयलाई लिएर शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा भएको वार्तामा सामाजिक सद्भाव कायम गर्ने र आगामी २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने लगायतका ६ बुँदे प्रतिबद्धता जनाइएको थियो । तर, सहमति भएको भोलिपल्टै पुनः झडप भएपछि प्रशासनलाई चुनौती थपिएको छ ।

झडपमा घाइते भएकाहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । हाल घटनास्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र स्थानीय प्रशासनले सर्वसाधारणलाई कुनै पनि उत्तेजनामा नआउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *