चितवन । चितवनका किसानहरू यतिबेला आफ्नो उत्पादनले बजारमा उचित मूल्य पाएपछि निकै उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष तरकारीको भाउ राम्रो भएपछि पूर्वी चितवनदेखि पश्चिम चितवनसम्मका किसानको अनुहारमा खुसी छाएको हो । असोजमा परेको अत्यधिक वर्षाका कारण उत्पादनमा केही कमी आए पनि माग बढ्दा किसानले खेतबाटै राम्रो आम्दानी गरिरहेका छन् ।
पूर्वी चितवन राप्ती नगरपालिका–१ का किसान प्रेमबहादुर खुलालले यसपटक तरकारीको बजार मूल्य सोचेभन्दा राम्रो रहेको बताउनुभयाे । तीन बिघामा व्यावसायिक खेती गरिरहेका उहाँले घीउ सिमी प्रतिकिलो १२० देखि १३० रुपैयाँ र गोलभेँडा प्रति क्रेट १६ सयदेखि २६ सय रुपैयाँसम्ममा खेतबाटै बिक्री गरिरहेका छन् । तरकारीलाई ग्रेडिङ गरेर बजार पठाउन सके अझ राम्रो मूल्य पाइने उहाँको अनुभव छ । त्यस्तै, भरतपुर–२१ का शिवराज बरालले पनि सात वर्षदेखिको व्यावसायिक खेतीमा अहिले जस्तो मूल्य कहिल्यै नपाएको बताउनुभयाे । उहाँले लगाएको लौका, काँक्रो र गोलभेँडाले बजारमा राम्रो माग पाएपछि अहिले व्यापारी खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य भएको छ ।
केरूङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीका अनुसार पछिल्लो तीन महिनादेखि किसानले तरकारीको राम्रो भाउ पाइरहेका छन् । तर, बजारको अस्थिरताका कारण यो मूल्य कति समयसम्म टिकिरहन्छ भन्नेमा किसानहरू अझै सशङ्कित छन् । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले गुणस्तरीय उत्पादन गर्न सके बजार र मूल्यको समस्या नहुने बताउनुभयाे । जिल्लामा हाल करिब ७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ ।
चितवनको तरकारीको पहिचान अब स्वदेशी बजारमा मात्र सीमित छैन । यहाँको ताजा उत्पादन पछिल्लो समय दुबई जस्ता विदेशी सहरहरूमा समेत निर्यात हुन थालेको छ । कार्यालयले पनि किसानको माग र आवश्यकताका आधारमा लगानी र प्राविधिक सहयोग बढाउँदै लगेको छ । विदेशी बजारमा माग बढ्नु र स्थानीय बजारमा पनि राम्रो मूल्य पाइनुले चितवनका किसानलाई तरकारी खेतीमा भविष्य खोज्न थप ऊर्जा मिलेको छ ।
