भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । नगरपालिकाबाट बाहिरिएको एउटा विद्युतीय कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएपछि अख्तियारले घिमिरेलाई पक्राउ गरेको हो ।
सोमबार अपराह्न नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा ईभी कारलाई अख्तियारको टोलीले निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिकै रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा कारभित्र ठूलो परिमाणमा नगद फेला परेपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
उक्त कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएको बताइएको छ । अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसबापत लिएको रकम व्यवस्थापनका लागि नातेदार पर्ने भुवन ढुङ्गेललाई दिनुभएको थियो ।
कारबाट रकम बरामद भएपछि अख्तियारको टोली मध्यपुर थिमि नगरपालिका कार्यालय पुगेको थियो । त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको हो ।
घटनाबारे अख्तियारले थप अनुसन्धान अघि बढाएको छ ।
