काठमाडौं । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् ।
प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल १८ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार कूल रु ११ लाख ० हजार एक सय बराबरको क्षति भएको छ ।
यस्तै, रसुवामा हावाहुरीका कारण क्षति पुगेको छ । गोसाईंकुण्ड गापा–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको छ । भोजपुर, खोटाङ र ललितपुरमा पहिरोका घटना भएका छन् ।
गोरखाको चुननुब्रीमा हिमपातका कारण प्रभावित भएकालाई उद्धार गरिएको छ । सिरहा, तनहुँ र कैलालीमा भने सर्पदंशकारण तीन जना घाइते भइ उपचारका क्रममा छन् ।
