इन्जिनियर्स एसोसियसनले पुनर्निर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

काठमाडौं । देशभरका इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसियसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्यांकन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ ।

एसोसियसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ती जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्यांकन र पुनर्निर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिनुभयो ।

‘विसं १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनर्निर्माण गर्न ठूलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

एसोसियसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एशोसिएशनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्यांकन सुरू गरेको एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिनुभयो ।

उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्यांकन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनर्निर्माणको सम्भाव्यता अध्ययन एवं मूल्यांकन हुने अध्यक्ष बरालले बताउनुभयो ।

उहाँले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *