रसुवा । मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा भदौ १५ गते धुन्चेतर्फ जाँदै गर्नुभएको थियो । उहाँहरू सोही दिनदेखि सम्पर्कविहीन भएपछि आफन्तले मंगलबार बिहान प्रहरीमा खोजतलासको लागि निवेदन दिएका थिए ।
निवेदनपछि खोजी कार्य सुरू गरिएको थियो । धुन्चेमा जडान गरिएको सिसिटिभी फुटेजमा भदौ १५ गते राति करिब १० बजे मोटरसाइकलमा धुन्चेबाट ठाडेतर्फ गइरहेको देखिएको प्रहरीले जनाएको थियो । त्यसकै आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।
जसअनुसार मंगलबार बिहान उहाँहरूको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा शव फेला परेको हो ।
घटनास्थल निरीक्षण गर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । फेला परेको एउटा शवलाई रोप रेस्क्यु प्रविधिबाट निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
