सन्तोष रूचाल, धनकुटा । पूर्वमन्त्री एवम् संघीय सांसद राजेन्द्रकुमार राईको पहलमा जिल्ला अस्पताल धनकुटामा रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको छ ।
डायलाइसिस सेवालाई थप व्यवस्थित बनाउन सांसद राईको पहलमा स्वास्थ्य सेवा विभागबाट रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको हो । जिल्ला अस्पताल धनकुटामा २०८० जेठ १२ गतेदेखि पाँच वटा हेमोडायलाइसिस मेसिन ल्याएर मृगौला रोगीहरूको डायलाइसिस गरिदैं आएको छ । मृगौला फेल भएपछि विरामीको रगत सफा गर्न डायलाइसिस गर्ने गरिन्छ ।
सो क्रममा प्रयोग हुने पानी विरामीको रगतसम्म पुग्दछ । आरओ प्लान्ट मेसिनले सोही पानीलाई शुद्ध बनाउने कार्य गर्दछ । अहिले जिल्ला अस्पताल धनकुटामा एक वटा मात्र आरओ प्लान्ट मेसिन रहेको थियो । अब अर्को प्लान्ट थप भएकाले डायलाइसिस गर्न थप सहज भएको धनकुटा अस्पतालका प्रमुख सन्तोष राईले बताउनुभयो । धनकुटा अस्पतालमा हाल ६ जनाको डायलाइसिस हुदै आएको छ ।
