सन्तोष रूचाल, धनकुट । धनकुटामा हरेक शुक्रबार हुँदै आएको चियासँग कविताको २५ औं श्रृङ्खला एवम् रजत श्रृङ्खलाको अवसरमा कविता प्रतियोगिताको आयोजना गरिएको छ ।
रेडियो धनकुटा एम.एम. १०६.२ मेगाहर्ज धनकुटाको संयोजनमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा धनकुटाकी जोत्सना अधिकारी प्रथम हुनुभएको छ ।
त्यस्तै दृष्टि श्रेष्ठ द्वितीय हुनुभएको छ भने समिक्षा अधिकारी तृतीय हुनुभएको छ । प्रतियोगितामा डि.आर फूयाँल सान्तवना हुनुभएकाे थियाे । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेहरूलाई क्रमश: नगद २ हजार ५ सय, १ हजार ५ सय, १ हजार र ५०० रुपैयाँका साथै प्रमाण पत्र वितरण गरिएको थियो ।
२५ औं श्रृङ्खलाको अवसरमा गरिएको खुल्ला कविता प्रतियोगितामा २९ जना प्रतियोगिहरू को सहभागिता रहेको थियो । सो प्रतियोगितामा सहभागीहरूले धनकुटाको भुगोललाई आधार मानेर कविता बाचन गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री एवम् धनकुटाबाट निर्वाचित संघीय सांसद राजेन्द्र कुमार राई, जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पछिल्लो समयमा प्रत्येक शुक्रबार सञ्चालन हुँदै आएको चियासँग कविता कार्यक्रम प्रति सबैको चासो र मोह पनि बढ्दै गएको छ । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरूको बाक्लो जमघट हुँदै आएको छ । साथै नयाँ र पुराना सर्जकहरूले एकै ठाउँमा भेला भएर आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै आइरहेका छन् ।
सोही क्रममा धनकुटाको मोरिङ्गा होटलमा भएको चियासँग कविताको २५ औं श्रृङ्खला तथा रजत श्रृङ्खलाको अवसरमा आयोजना गरिएको कार्यक्रममा धनकुटामा स्थापित सर्जकहरूले सिर्जना बाचन गरेका थिए ।
उक्त कार्यक्रममा साहित्यकार तथा कवि घनश्याम बराल औलाली, रोशन परियार, ध्रुव एलेक्स, राज माङ्लाक, भीम राई, गजलकार निर्मला कुँवर, द्धारिका रिजाल, ललित विश्वकर्मा लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
धनकुटामा २०८१ साल फागुन २ गतेदेखि हरेक शुक्रबार चियासँग कविता हुँदै आएको छ । कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरूले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यिक विकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले बताउनुभयो ।
