काठमाडौं । गत शुक्रबारदेखि अवरूद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन । लामो समयसम्म सडक अवरूद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा सुक्खा पहिरो जाँदा उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरूद्ध बनेको हो ।
सडक अवरूद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयाे ।
‘सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ, यात्रीलाई हर्मिचौर माथिबाट देउरालीहुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले भन्नुभयाे ।
पहिरो झर्ने क्रम नरोकिएका कारण आज बेलुकीसम्म पनि उक्त सडक सञ्चालन हुन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयाे ।
