मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरू गरेको अस्पताल गण्डकी प्रदेशको प्रादेशिक अस्पतालमा परिणत भएसँगै यही जेठ १२ गतेबाट एक सय शय्यामा स्तरोन्नति भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेश आचार्यका अनुसार गण्डकी प्रदेशको मन्त्रिपरिषद् निर्णयबाट सय शय्यामा स्तरोन्नति भएको अस्पतालको दरबन्दी, जनशक्ति र पूर्वाधार गण्डकी प्रदेश सरकारबाट थप हुँदै जाने सहमति भएको छ । अहिले अस्पतालमा ९९ जनाको दरबन्दी रहेको भन्दै आचार्यले आगामी चार वर्षभित्र एक सय शय्यालाई आवश्यक पर्ने दरबन्दी थप गर्दै लैजाने सहमति भएको बताउनुभयाे । अस्पतालले सुरूवाती अवस्थामा २२ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिकृतको दरबन्दी पुर्‍याउने गरी गण्डकी प्रदेश सरकारसँग सम्झौता गरेको भन्दै डा आचार्यले सुरूवाती अवस्थामा अप्राविधिक जनशक्ति स्थानीय स्रोतसाधनबाट राखिने बताउनुभयाे ।

अस्पतालमा अहिले फिजिसियन, नाक, कान, घाँटी, आँखालगायतका विभागमा चिकित्सकको दरबन्दी रहेको भन्दै केही दिनमा छालाका चिकित्सकको दरबन्दी कायम गराउने उहाँले बताउनुभयाे । अस्पतालमा आइसियु तथा एनेस्थेसिया विभाग नभएको भन्दै यी सुविधा थप गरिएको अवस्थामा बिरामी भएर भरतपुर जानुपर्ने अवस्थाको अन्त्य हुने डा आचार्यले बताउनुभयाे । अस्पतालले तीन वटा अत्याधुनिक मोडुलर अपरेसन थिएटर निर्माण गरेको भए पनि विद्युत् आपूर्तिमा समस्या भएका कारण सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयाे ।

पत्रकार सम्मेलन अस्पतालका व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण घिमिरेले अस्पतालमा ट्रमा युनिट थप गर्ने तयारी भइरहेको जानकारी दिनुभयाे । अस्पतालको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको भन्दै यही असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरी नयाँ भवनबाट सबै सेवा सुविधा प्रवाह गर्ने तयारी भइरहेको घिमिरेले बताउनुभयाे । अस्पतालले दुई सिफ्टमा डायलिसिस सेवा प्रदान गरिरहेको भन्दै एक सिफ्ट थप गरेर बिरामीलाई सहज रूपमा डायलिसिस सेवा प्रदान गर्ने गरी काम अगाडि बढिरहेको अध्यक्ष घिमिरेको भनाइ छ ।

अस्पताल सञ्चालनमा रहेको ठाउँको जमिन वनको नाममा रहेको भन्दै उनले त्यस जग्गालाई अस्पतालको नाममा ल्याउने गरी काम भइरहेको बताउनुभयाे । वन मन्त्रालयमा गएर फाइल रोकिएको भन्दै अस्पताल फैलिएको १० दशमलव ५९ हेक्टर क्षेत्रफलमध्ये सुरूमा दुई दशमलव दुई हेक्टर क्षेत्रफल अस्पतालका नाममा ल्याउने गरी काम भइरहेको अध्यक्ष घिमिरेले बताउनुभयाे । अस्पतालको दीर्घकालीन योजना सुनाउँदै घिमिरेले आफ्नै रक्तसञ्चार केन्द्र, पालिकामा स्वास्थ्य शिविर, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *