सन्तोष रूचाल, धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला अधिवेशनले गोमा कार्कीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ समिति गठन गरेको छ ।
निक्कै लामो रस्साकस्सीका बाबजुद गएराति अबेर सम्पन्न आठौ जिल्ला अधिवेशनबाट गोमा कार्की अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । निवर्तमान अध्यक्ष मनकुमारी तितुङ (तारा) र सचिव गोमा कार्कीले अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
रातभरीको प्रयास पछि तितुङले उम्मेदवारी फिर्ता लिएपछि कार्की अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उक्त कमिटीको उपाध्यक्षमा टंकमाया मगर र अस्मिका राई, सचिवमा सम्झना आले उपसचिवमा मेनुका पौडेल र कोषाध्यक्षमा शान्ता रसाईली सर्वसम्मत निर्वाचित भएको एमाले धनकुटाले जनाएको छ ।
अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मञ्जु काफ्लेले उद्घाटन गरेको उक्त अधिवेशनबाट ६ जना पदाधिकारी सहित ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको एमाले धनकुटाले जनाएको छ । अधिवेशनको उद्घाटन सत्रमा पूर्वमन्त्री एवम् एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, पार्टीका केन्द्रीय सदस्य विनादेवी राई, सकुन्तला बस्नेत, प्रदेशसभाका सदस्य निरन राई, इन्द्रमणि पराजुली, अनेम संघका केन्द्रीय सदस्य यज्ञकुमारी रुचाल, मञ्जु कार्की लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
