सिंहदरबारभित्रै प्रदर्शन: राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू पक्राउ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरू आइतबार सिंहदरबारभित्रैबाट प्रहरीले पक्राउ गरेका छन् ।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने नेताहरूमा बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही समेत छन् । उनीहरूलाई प्रहरीले भ्यानमा हालेर प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रदर्शनको क्रममा राप्रपाका नेताहरूले विभिन्न नाराहरू अंकित पम्प्लेट देखाउँदै सरकारविरूद्ध आवाज उठाएका थिए । सुरूमा प्रहरीले उनीहरूको पम्प्लेट खोसेको थियो भने, पछि प्रदर्शन रोक्न नेताहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्दा अध्यक्ष लिङ्देनले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारसमेत सरकारले दमन गरेको आरोप लगाउनुभयाे ।

राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार पार्टी कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको सीमामा भेला भएका थिए । त्यसपछि संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनसहित नेताहरूले सिंहदरबारमै प्रदर्शन थालेका थिए ।

राप्रपाले तीनकुने घटनाको छानबिन, पक्राउ परेका नेताहरूको रिहाइ र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *