काठमाडौं । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र ७ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने जनाइएको छ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यस दिन गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिश)को परीक्षा हुनेछ ।
यस्तै चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको भक्तपुरले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।
