हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ ।

स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न जानुभएकी राजबंशी आज दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जङ्गलमै हराइरहनुभएकाे थियाे ।

हात्तीले लखेटेपछि महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जङ्गलमा खोजी गर्दा उहाँलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सुरूमा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयाे ।

मरणासन्न अवस्थामा रहनुभएकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियो ।

प्रादेशिक अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको चन्दले जानकारी दिनुभयाे ।

सूचना अधिकारी चन्दका अनुसार आक्रमणकारी हात्ती अहिले पनि जङ्गलभित्रै रहेको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बनियानीको टोली घटनास्थलमा पुगेको उहाँले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *