काठमाडाैं । राष्ट्रिय गिर्जाघर महागुठी ट्रष्ट र नमुना ख्रीष्टियान समुदायको आयोजनामा पुस ७ गते तथा डिसेम्बर २२, २०२४ का दिन बडा दिन ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ लगभग ५०० भन्दा बढीको सहभागितामा सम्पन्न भयो ।
सारा मानवजातिको उद्धारको लागि जन्म लिनुभएका येशूको जन्मको महोत्सव वर्तमान सरकारका मन्त्रीहरू, उच्च ओहोदाका कर्मचारीहरू, संविधानसभा सदस्य, तथा ललितपुर महानगरपालिकाको विभिन्न वडाध्यक्षहरू र कर्मचारीहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो ।
प्रमुख अतिथी र विशेष अतिथिका मन्तव्यहरू
कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. देवेन्द्र दहाल, विशेष अतिथिहरू बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री मा. प्रेमभक्त महर्जन, संविधानसभा सदस्य मा. हेमराज भण्डारी, बागमती प्रदेश निवर्तमान राज्य मन्त्री मा. जीवन खड्का, मालपोत कार्यालय ललितपुर प्रमुख जीवन सेढाईंसहितले सबैलाई ख्रीष्टमसको माहोलले देश, जनता र व्यक्तिमा जीवन, शान्ति, विकास र समृद्धिको कामना गर्नुभयो ।

कार्यक्रमको झलक
संविधानसभा सदस्य मा. हेमराज भण्डारीले यो धर्मनिरपेक्ष, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुभौगोलिक देश संसारकै विविधताको धनी देश हो र यसमा अटाएर बस्ने सबै नेपाली, राज्यका शासकहरूमा ईश्वरले निष्पक्ष राज्य संचालनको लागि सतबुद्धि दिऊन् भन्ने कामना गर्नुभयो ।
श्री विधान बराल र सुश्री सुस्मा रसाइलीको संचालन रहेको उक्त कार्यक्रममा नेपाली ख्रीष्टियान जगतका वरिष्ठ पास्टर डा. सुन्दर थापाले बाइबलबाट ख्रीष्टमस प्रवचन दिनुभयो भने, डा. सिमोन पाण्डे, वरिष्ठ पास्टर हनोक तामाङ, लपुमनपा वडा नं. १८ का वडाध्यक्ष दामोदर खड्का, लपुमनपा वडा नं. १३ की वडा सदस्य सरस्वती के.सी., अभिभावक संघ ललितपुरका अध्यक्ष देवराज लामिछाने, पा. तिमोथी दहाल, पास्टर डा. शिवहरि भट्टराईले शुभकामना मन्तव्य दिनुभएको थियो ।
स्वागत र गिर्जाघर निजी गुठीसम्बन्धी प्रस्तुति
राष्ट्रिय गिर्जाघर महागुठी ट्रष्टका महासचिव तथा नमुना ख्रीष्टियान समुदायका अध्यक्ष पा. डा. पदमनाथ पराजुलीले कार्यक्रममा स्वागत, राष्ट्रिय गिर्जाघर महागुठी ट्रष्टका सहसंयोजक पा. डा. किरणकुमार दासले राष्ट्रिय गिर्जाघर निजी गुठीबारे चर्चा गर्नुभयो ।

सम्मान कार्यक्रम
उक्त कार्यक्रममा, विभिन्न विधामा नेपाली समाजलाई योगदान गर्नुहुने निम्न महानुभावहरूलाई सम्मान गरिएको थियोः (१) वरिष्ठ धर्मगुरु पा. शमूएल सादेम्बा, (२) शिक्षा क्षेत्रमा योगदान गर्नुहुने ऋषिराम आचार्य, (३) शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्नुहुन निमटोल्मा आचार्य, (४) द लेप्रोसी मिशन इन्टरनेशनलको नेपालका निर्देशक (३५ वर्ष अनवरत सेवा), (५) निजामती सेवामा लामो समयसम्म अनवरत सेवा गर्नुहुने ललितपुर मालपोत कार्यालयका प्रमुख जीवन सेडाईं ।
यसरी मनाइएको ख्रीषटमस कार्यक्रममा सबै सहभागीहरूले धेरै आशिषमय भएकाे प्रतिक्रिया दिएका थिए ।
