स्वास्थ्य चौकीको पक्की भवन बनेपछि नौमती बजाएर स्थानीयले मनाए खुशीयाली

बेनी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी छन् । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने उहाँको आशा छ ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसियाली मनाएका छन् ।

गाउँपालिका र संघीय सरकारको एक करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुईतले सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको हो ।

भवन निर्माण भएर सेवा सञ्चालनको उपलक्ष्यमा स्थानीयले नौमती बाजासहित नाचगान गरेर खुसियाली पनि मनाए । नयाँ भवनबाट सरल र सहजरूपमा स्वास्थ्योपचार सेवा लिन सुविधा पुगेको स्थानीय ६४ वर्षीय मनिराम पुनले बताउनुभयाे ।

चिमखोलाको मलाङमा स्थानीयको १० लाख र रघुगङ्गा गाउँपालिकाको १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गर्ने र सम्माएर व्यवस्थापन गर्ने काम गरिएको थियो ।

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आवश्यक सामग्रीको बन्दोबस्त गरी नवनिर्मित भवनबाट सेवा शुभारम्म गरिएको बताउनुभयाे ।

उहाँले भवनमा थप औजार उपकरण र औषधिको उपलब्धता गराएर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुभयाे ।

भवन बनाउन रघुगङ्गा गाउँपालिकाले एक करोड पाँच लाख ४० हजार ४४२ र संघीय सरकारको विशेष अनुदानबाट ७३ लाख ९८ हजार पाँच सय ९० लगानी भएको छ ।

आर्थिक वर्ष २०७८/७९ देखि निर्माण सुरू भएको स्वास्थ्यचौकी भवन दुई चरणमा ठेक्का लगाएर निर्माण गरिएको हो ।

भवनको तला थप गर्न र भवनको सम्पूर्ण निर्माण सम्पन्न गर्न भगवतीरमालिका निर्माण कन्ट्रक्सनले ठेक्का लिएको थियो भने स्थानीय निर्माण व्यवसायी प्रदीप पाइजाले कामको जिम्मा लिएर निर्माण सम्पन्न गरेका हुन् ।

उद्घाटन समारोहमा निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनाले स्वास्थ्यचौकी भवनको चाबी गाउँपालिका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

भवनमा बिरामी चेकजाँच, बर्थिङ सेन्टर, औषधि भण्डारण, कर्मचारी आवासलगायतको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । भवनको सुरक्षाको लागि पर्खाल निर्माण, तारबार, रङरोगनसँगै विद्युत्, खानेपानी जडान गरिएको छ ।

खुला ठाउँ र फराकिलो कोठाहरू रहेकाले बिरामीको चेकजाँच गर्न र सेवाग्राहीलाई समेत सहजरूपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्यचौकीका प्रमुख हिस्टुरी पाइजाले जानकारी दिनुभयाे ।

नवनिर्मित स्वास्थ्यचौकी भवनमा बर्थिङ सेन्टरसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि आवश्यक सामग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने वडा कार्यालयको तयारी छ ।

विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यसअघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकिएको छ भने नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न लागिएको वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयाे ।

रघुगंगा गाउँपालिकामा वडा नम्बर १ बेगबाहेकका सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ ।

भौगोलिक विकटता रहेको र स्वास्थ्यचौकीमा पुगेर सेवा लिन घन्टौँ हिँड्नुपर्ने ठाउँका नागरिका लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *