फिक्कल । माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारूम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो ।
किराँत धर्मगुरू आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरूको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् ।
अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताउनुभयो । “यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ”, उहाँले भन्नुभयो, “होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।”
त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताउनुभयो । “यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ”, अध्यक्ष राईले भन्नुभयो ।
जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ । माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् ।
धर्मगुरूको जन्मोत्सव समारोहका अवसरमा विभिन्न धार्मिक कार्यक्रम हुने गर्दछ । मङ्गलबार रक्षामन्त्री मानवीर राईले उद्घाटन गर्नुभएको जन्मोत्सव समारोह बिहीबारसम्म सञ्चालन हुने मुख्य आयोजक किराँत अङ्सी माङ्गेन्नन सेवा समिति अध्यक्ष केहरसिंह योङहाङले बताउनुभयो ।
बुधबार धर्मगुरू आत्मानन्द लिङ्देनबाट धार्मिक प्रवचनसँगै आर्शीवाचन, उपहार वितरण, धन्यवादपत्र वितरण, पुस्तकपुस्तिका विमोचनलगायत कार्यक्रम तय गरिएको अध्यक्ष योङहाङले बताउनुभयो । त्यस्तै बिहीबार माङगेन्ना चामल वितरणसँगै बिदाइ कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
