१ करोड खर्चेर तयार पारिएको सुरूङमार्गको डिपिआर दराजमा थन्कियो

बागमती । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरूङमार्गलाई प्रस्तुत गर्दै १ करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरूङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरूङमार्ग योजना अलपत्र छ ।

‘आर्थिक वर्ष २०७६/७७ मा सुरूङमार्गको अध्ययन गर्न र योजना अघि बढाउन बजेट विनियोजन भयो,’ बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका इञ्जिनियर ज्यानेन्द्रप्रसाद पुनले भन्नुभयो, ‘सो सरकारको निर्णयअनुसार आव २०७७/७८ मा सुरूङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर, ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ,’ उहाँले भन्नुभयो ।

सरकार फेरिएसँगै सो आयोजना अघि बढाउने वा खारेज गर्ने टुङ्गो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको उहाँले बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको सुनिश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएको बताउनुभयो ।

‘अन्य आयोजनाजस्तो सरल होइन सुरूङमार्ग, यो अधिक लगानी लाग्ने आयोजना हो,’ उहाँले भन्नुभयो, ‘पहिला सुरूङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नुपर्छ ।’

सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरूङमार्ग बनाउन सकिने भएकाले त्यसका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *