सन्तोष रूचाल, धनकुटा । धनकुटामा एभोकाडोसहित स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिएको छ । धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन र किसान एवं उद्यमीरूलाई प्रोत्साहनका लागि नगरपालिकाको प्राङ्गणमा एक दिने प्रदर्शनी आयोजना गरेको हो ।
पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले दिप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धनमा सघाउ पुर्याएको धारणा राख्नुभयो ।
स्थानीय किसानले फलाएका फलफूल, तरकारीसहित स्थानीय उद्योगले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राखिएको थियो । २२ वटा स्टलमार्फत गरिएको प्रदर्शनीमा एभोकाडोका स्टल धेरै थिए ।
प्रदर्शनीमा एउटै एभोकाडो १ किलो २३० ग्रामसम्मको थियो ।
एक दिने प्रदर्शनीमा करिब १ हजार ४ सय जनाले स्थानीय उत्पादन अवलोकन गरेको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिनुभयो । पाँच बर्षअघि नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर धनकुटा नगरले यसको प्रवर्द्धनमा विभिन्न गतिविधि गर्दै आएको छ । धनकुटामा अहिले ४ हजार ९ सय २६ परिवारले १२ हजार ९९ रोपनी क्षेत्रफलमा एभोकाडो खेति गर्दै आएका छन् । एभोकाडो खेती गर्नेको संख्या बर्षेनी बढिरहेको छ ।
