त्रिशूली नदीले एस्काभेटर र टिप्पर बगायो

गोरखा । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एस्काभेटर र टिप्पर बगाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एस्काभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिनुभयो । “साँझतिर एउटा एस्काभेटर र एउटा टिप्पर बगाएको थियो,” उहाँले भन्नुभयो, “सोही ठाउँमा रहेका थप एउटा एस्काभेटर र दुईवटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।”

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एस्काभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उहाँको भनाइ छ । ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एस्काभेटर नदीले बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *