धनकुटा प्रहरीद्वारा करिब ११ सय केजी गाँजा नष्ट

सन्तोष रूचाल, धनकुटा । प्रहरीले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले २०८१ जेठ महिना यता विभिन्न समयमा बरामद गरेको लागु औषध (गाँजा) जलाएर नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहको नेतृत्वमा धनकुटा नगरपालिका–९ स्थित मुलघाट तमोर नदीको किनारमा एक हजार ८३ केजी गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिका लगायतका विभिन्न स्थानबाट प्रहरीले लागु औषध (गाँजा) बरामद गरेको थियो । उक्त बरामद गरिएको गाँजालाई जलाएर नष्ट गरिएको प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिनुभएकाे छ ।

धनकुटाको साँगुरीगढी र सहिदभूमि गाउँपालिकाका विभिन्न क्षेत्रमा गाँजा उत्पादन हुदै आएको छ । उक्त क्षेत्रमा उत्पादित गाँजा साँगुरीगढी गाउँपालिका–६ भेडेटार हुदै तराईतिर लैजाने गरिएको पाइएको छ ।

त्यसक्रममा प्रहरीले निगरानी गरी गाँजा बरामद गर्दै आएको छ । खास गरेर सहिदभूमिको छिन्ताङ र साँगुरीगढीको आहाले महाभारत क्षेत्रमा गाँजा बढी मात्रामा उत्पादन हुने गरेको छ । सो क्षेत्रमा प्रहरीले बर्षैपिच्छे गाँजा खेती नष्ट गर्दै आएको छ । तर पनि लुकिछिपी गाँजा विक्रीवितरण कार्य रोकिन सकेको छैन । गाँजा ओसार पसारको क्रममा पक्राउ पर्नेमा सो क्षेत्रका नै बढी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *