भोटेकोशी बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत, ऋण मिनाहा र छोराछोरीलाई निःशुल्क शिक्षा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी तथा विपद्मा परी ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई राहत पुग्ने गरी महत्वपूर्ण निर्णय गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । साथै, बाढीमा परी मृत्यु भएका कर्मचारीका आश्रित परिवारलाई २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै, मृतक कर्मचारीले सशस्त्र प्रहरीको कल्याणकारी कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण रकम मिनाहा गर्ने निर्णय गरिएको छ ।

मृतक कर्मचारीका सन्ततिहरूलाई पायक पर्ने सशस्त्र प्रहरी बल नेपालका विद्यालयमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णयसमेत गरिएको छ ।

विपद्का बेला ज्यान गुमाएका कर्मचारीका परिवारलाई आर्थिक तथा शैक्षिक सहयोग गर्ने सशस्त्र प्रहरीको यो निर्णयलाई मानवीय र प्रशंसनीय कदमका रूपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *