विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गर्नुभएकाे छ ।

फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उहाँले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।

खेलपछि भावुक हुँदै ३४ वर्षीय नेयमारले भन्रुभयाे,‘मैले आफ्नो सम्पूर्ण प्रयास गरें । मेरो राष्ट्रिय टोलीको यात्रा यही मेटलाइफ स्टेडियमबाट सुरू भएको थियो र यहीं आएर समाप्त भयो । अब यो अध्याय सकिएको छ ।’

नेयमारले सन् २०१० अगस्ट १० मा अमेरिकाविरूद्धको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएकाे थियाे । त्यो खेल पनि न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममै भएको थियो । संयोगवश, राष्ट्रिय टोलीको अन्तिम खेल पनि सोही मैदानमा सम्पन्न भयो ।

नर्वेविरूद्धको खेलमा नेयमार दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थियाे । उहाँले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल गरे पनि ब्राजिललाई हारबाट बचाउन भने सक्नुभएन ।

दायाँ खुट्टाको पिँडुलामा लामो समयदेखि रहेको चोटका कारण नेयमारले यस विश्वकपमा सीमित अवसर मात्रै पाउनुभयाे । उहाँले ब्राजिलका पाँचमध्ये दुई खेल खेल्नुभयाे भने समूह चरणमा स्कटल्यान्डविरूद्ध १५ मिनेट मात्र मैदानमा उत्रिनुभएकाे थियाे ।

पछिल्ला केही वर्षयता लगातारको चोटका कारण नेयमारको प्रदर्शन प्रभावित हुँदै आएको थियो । एक दशकभन्दा बढी समयसम्म ब्राजिलको मुख्य खेलाडीका रूपमा रहनुभएकाे उहाँ अब राष्ट्रिय टोलीबाट बिदा हुनुभएकाे छ ।

ब्राजिलका कप्तान मार्किन्होसले अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने समय आएको भन्दै समर्थकसँग धैर्य राख्न आग्रह गर्नुभएकाे छ । उहाँले भन्रुभयाे,‘हामी सबै समर्थकलाई नयाँ पुस्तामाथि विश्वास गर्न र सुरूदेखि नै उनीहरूलाई पूर्ण साथ दिन आग्रह गर्छौं । ब्राजिलको भविष्य उनीहरूकै हातमा छ ।’

नेयमारको सन्न्याससँगै ब्राजिल फुटबलको एक सफल युगको औपचारिक अन्त्य भएको छ । अब पाँच पटकको विश्वविजेता टोली नयाँ पुस्ताको नेतृत्वमा आगामी चुनौतीका लागि अघि बढ्नेछ ।

खेलपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *