केराखेतीमा ‘टिआर फोर’ को संक्रमण

चितवन । जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको संक्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को संक्रमण देखिएको हो ।

जिल्लास्थित राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको संक्रमण देखिएको हो ।

करिब ५५ बिघा क्षेत्रफलमा लगाइएको केराखेतीमध्ये पाँच बिघामा पानामा रोगको नयाँ भेरिएन्टको संक्रमण देखिएर केराको गुवो लाग्ने समयमा थामबाट फल बाहिर निस्कन थालेको उहाँ जानकारी दिनुहुन्छ ।

किसानले नवलपरासीबाट ल्याएर लगाएका बिरुवामा यो समस्या देखिएको रेग्मीले बताउनुभयो । केहीसमय अघिदेखि यो समस्या देखिएपछि अहिले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ र कृषि अनुसन्धान परिषद् (नार्क)मा नमुना पठाइएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा बाहिरबाट केराको बिरुवा ल्याउने हुँदा परीक्षण गरेर मात्र ल्याउन उहाँले सबै किसानलाई आग्रह गर्नुभयो । पश्चिम चितवनमा केराखेती गर्दै आएका कृषक यज्ञ सुवेदीले आफूले नवलरपरासीबाट ल्याएको बिरुवामा समस्या देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो- “रोग देखिएपछि त्यसको व्यवस्थापनको पाटोमा काम गरिरहेका छौँ । यो रोगको कुनै उपचार नभएकाले जोतेर रोग अन्यत्र फैलन नदिने गरी व्यवस्थापन गरिएको छ ।”

जिल्लामा पहिलोपटक यो रोग देखिएको एकाइका प्रमुख रेग्मीले जानकारी दिनुभयो । यो संक्रमणबाट बच्नका लागि रोग लागेका केरा फार्ममा प्रयोग भएका औजार तथा यातायातलाई निर्मलीकरण गरेर अन्य फार्ममा लैजानु पर्ने तथा रोग देखिका फार्मलाई पूर्ण रूपमा निर्मलीकरण नगरी केराका नयाँ बिरूवा लगाउन नहुने उहाँले बताउनुभयो ।

जिल्लामा हाल दुई हजार ८०० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आएको छ । जसमध्ये दुई हजार २०० हेक्टर क्षेत्रफल ‘केराजोन’मा पर्दछ । यहाँ वार्षिक ४३ हजार १९३ मेट्रिकटन केरा उत्पादन हुँदै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *