ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ ।
हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘बिबिसी’ ले जनाएको हो ।
गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोह क्रममा भएका व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै न्यायाधीकरणले यस्तो फैसला सुनाएको हो ।
भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो । ४५३ पृष्ठको फैसलालाई न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ६ भागमा विभाजन गरी अदालतमा वाचन गरेका थिए । यो फैसला बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।
पाँच आरोप, तीन अभियुक्त, गिरफ्तारी वारन्ट
अभियोजन पक्षले गत जुनमा शेख हसिनासहित तीन जनाविरूद्ध पाँचवटा औपचारिक आरोप दर्ता गरेको थियो। ती आरोपका आधारमा हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालविरूद्ध गिरफ्तारी वारन्ट समेत जारी गरिएको थियो ।
विद्रोहका दिनहरूमा देशभरि भएका विस्तृत हिंसात्मक घटनामा हसिनाको भूमिका रहेको अभियोजन पक्षको दाबी छ ।
गत वर्ष जुलाई–अगस्टको आन्दोलनमा १,४०० जनाको हत्या र २५ हजारजति घाइते भएको दाबी अभियोजक ताजुल इस्लामले न्यायाधीकरणमा पेस गरेका थिए । मृतकहरूको सूचीसमेत अदालतमा बुझाइएको थियो ।
अभियोजन पक्षले तीनै अभियुक्तविरूद्ध ७४७ पृष्ठको प्रमाण–दस्तावेज पेस गरेको थियो ।
हत्या, हत्या प्रयास, षड्यन्त्र, हिंसा दुरूत्साहक र सञ्चालनमा भूमिका जस्ता पाँच मुख्य अपराधमा उनीहरूलाई दोषी बनाइएको छ ।
‘रजाकार’ टिप्पणी मुख्य आधार
अभियोजन पक्षका अनुसार १४ जुलाईमा प्रधानमन्त्री रहेको बेला हसिनाले पत्रकार सम्मेलनमा विद्यार्थीहरूलाई ‘रजाकारका छोरा–नाति’ भन्दै गरेको टिप्पणीले विद्रोहलाई थप हिंसात्मक बनाएको थियो ।
बंगलादेशमा ‘रजाकार’ शब्द १९७१ को मुक्तियुद्धमा पाकिस्तानी सेनाको पक्षमा लागेको समूहका सदस्यहरूप्रति प्रयोग हुने अपमानजनक शब्द हो ।
अभियोजन पक्षले दाबी गरेको छ, सरकारका शीर्ष अधिकारीहरूको उक्साहट र निर्देशनमा, सुरक्षा निकाय र सत्तारूढ अवामी लीगका समूहहरूले निहत्था विद्यार्थी तथा सर्वसाधारणमाथि संगठित आक्रमण गरेका थिए ।
