कर्मचारी अभाव र साँघुरो कार्यालयको समस्यामा राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौं । सार्वजनिक निकायको सेवा प्रवाहमा नियमन, अनुगमन र छड्के जाँच गर्ने जिम्मेवारी पाएको राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अभाव र साँघुरो कार्यालय भवनको समस्यामा परेको छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गरिरहेको छ, भने दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा केन्द्रको कामकाज नै प्रभावित भएको छ ।

केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण भट्टले हाल १४७ दरबन्दी रहेकामा करिब ३० प्रतिशत कर्मचारी रिक्त रहेको बताउनुभयाे । कामको प्रकृतिअनुसार अधिकांश कर्मचारी केन्द्रमा आउन नचाहने प्रवृत्ति देखिएको उहाँको भनाइ छ ।

केन्द्रको २३औँ प्रतिवेदनअनुसार, प्रहरीतर्फ २४ दरबन्दीमध्ये १२ जना मात्रै र निजामतीतर्फ ९६ दरबन्दीमध्ये ७१ जना मात्र कार्यरत छन् । यसरी ३१ प्रतिशत कर्मचारी पदपूर्ति हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रवक्ता भट्टले खासगरी प्राविधिक कर्मचारीको अभाव र टिकाउ दर निराशाजनक हुँदा केन्द्रको कार्य प्रभावकारितामा असर परेको बताउनुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले केन्द्रमा कर्मचारीको टिकाउ दर कम रहेको यथार्थका बीच कसरी दरबन्दीअनुसार पदपूर्ति गराउन सकिन्छ भन्नेमा आफूहरू गम्भीर रहेको जानकारी दिनुभयाे । उहाँले केन्द्रलाई बेग्लै कार्यालय उपलब्ध गराउने विषयमा छलफल भइरहेको पनि बताउनुभयाे ।

स्मरण रहोस्, गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा शिक्षा मन्त्रालयको भवनमा आगजनी र क्षति पुग्दा भुइँतलामा रहेको केन्द्रको कार्यालय र गाडीहरू ध्वस्त भएका थिए । शिक्षा मन्त्रालय सञ्चालनमा आएसँगै केन्द्र पनि क्रमशः काममा फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *