नवलपुरमा ९ करोडको सुन्तला उत्पादन

नवलपुर । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ९ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताउनुभयो ।

जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उहाँको भनाइ छ ।

गत वर्ष कूल २२६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा १४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन थालिएको थियो ।

‘अघिल्लो वर्ष जिल्लामा एक हजार २२७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष एक हजार ४१४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ,’ सूचना अधिकारी काफ्लेले भन्नुभयो, ‘यस वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर २५६ हेक्टर पुगेकामा १६१ हेक्टरमा सुन्तला उत्पादन हुन थालेको छ ।’

जिल्लामा बर्सेनि सुन्तला उत्पादन हुने क्षेत्रफल वृद्धि हुँदै गइरहेको छ ।

‘जोन लागू भएपछि किसानले बिरूवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोग पाउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘यसै कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै उत्पादन नहुने भएकाले किसानहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।’

जिल्लाको बौदिकाली र बुलिङटार गाउँपापलिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक रूपमा सुन्तला खेती गरिँदै आएको  छ । जिल्लामा तीन हजार दुई सय किसानले सुन्तला खेती गर्दै आएका सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *