आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ। प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा थप विद्युत कर लगाएका थिए ।

सरकारको निर्णयअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भने भ्याट लाग्ने छैन । त्यसभन्दा माथिको खपतमा लाग्ने विद्युत् महसुलमा मात्रै ५ प्रतिशत भ्याट जोडिनेछ ।

यस व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन् । तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले अतिरिक्त भ्याट तिर्नुपर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या ३० लाखभन्दा बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *