किएभ । रुसले युक्रेनमाथि युद्ध सुरू भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । पछिल्लो २४ घण्टामा रुसले युक्रेनका विभिन्न सहरहरूलाई निसाना बनाउँदै ९४८ वटा ड्रोन प्रहार गरेको हो ।
युक्रेनी वायुसेनाका अनुसार मंगलबार दिउँसोको असामान्य आक्रमणमा मात्रै ५५६ वटा ड्रोन प्रयोग गरिएका थिए । यस आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् । यसअघि रातभर भएको आक्रमणमा पाँच जनाले ज्यान गुमाइसकेका थिए । रुसले रातको समयमा ३९२ ड्रोन र ३४ वटा मिसाइल प्रहार गरेको युक्रेनको दाबी छ ।
यसपटक रुसी आक्रमणको निशानामा युक्रेनका ऐतिहासिक र संवेदनशील क्षेत्रहरू परेका छन् । पश्चिमी सहर ल्भीभमा अवस्थित १६ औँ शताब्दीको प्रसिद्ध बर्नाडाइन गुम्बामा क्षति पुगेको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्र सहरको केन्द्र भागमा पर्दछ । ल्भीभका आवासीय भवनहरूमा पनि ड्रोन खसेका भिडियोहरू सार्वजनिक भएका छन्, जहाँ ३२ जना घाइते भएका छन् ।
छिमेकी सहर इभानो-फ्रान्किभ्स्कमा रुसी ड्रोन प्रहारबाट एउटा प्रसूति अस्पतालमा क्षति पुगेको छ । यस सहरमा ६ वर्षका बालकसहित चार जना घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । त्यसैगरी, टेर्नोपिल र विन्नित्सिया जस्ता सहरहरूमा पनि प्रत्यक्ष प्रहार भएका छन्, जहाँ एक व्यक्तिको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।
आक्रमणको यस्तो प्रकृतिले रुस युद्ध अन्त्य गर्ने पक्षमा नरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले भिडियो सम्बोधनमार्फत रुसको नियत शान्ति स्थापना गर्ने नभई विनाश निम्त्याउने मात्र देखिएको उल्लेख गरे ।
युक्रेनी वायुसेनाले अधिकांश ड्रोन र मिसाइल खसालेको दाबी गरे पनि देशका ११ वटा क्षेत्रमा प्रत्यक्ष प्रहार भएको स्वीकार गरेको छ । वायुसेनाका प्रवक्ता युरी इग्नातका अनुसार रुसी ड्रोनहरू उत्तर दिशाबाट लस्कर लागेर युक्रेनी आकाशमा प्रवेश गरेका थिए ।
मंगलबार नै रुसको कुर्स्क क्षेत्रमा युक्रेनले गरेको ड्रोन आक्रमणमा एक रुसी नागरिकको मृत्यु भएको खबर सार्वजनिक भएको छ । अमेरिकाको मध्यस्थतामा हुन लागेको शान्ति वार्ताको प्रयास फेब्रुअरीको अन्त्यतिर सुरू भएको अमेरिका-इजरायल र इरानबिचको तनावका कारण सुस्ताएको छ ।
एजेन्सी
