काठमाडौं । यस वर्षको अक्टोबर महिना मा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म कूल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरको तथ्याङ्कलाई हेर्दा, युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटक आएका छन्, जसले गर्दा यो महिनाको कुल सङ्ख्या प्रभावशाली देखिएको छ ।
अक्टोबरमा नेपाल भ्रमण गर्ने पर्यटकहरूमा भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना रहेका छन् । त्यसपछि अमेरिकाबाट १३ हजार २ सय ८६, बेलायतबाट ८ हजार ७ सय १८, चीनबाट छ हजार ७ सय ५५, र जर्मनीबाट छ हजार ३ सय ६६ जना पर्यटक नेपाल आएका थिए । यसरी प्रमुख स्रोत बजारहरूबाट पर्यटकको आगमन बढ्दा नेपालको पर्यटन क्षेत्रमा थप उत्साह थपिएको छ ।
रासस
