काठमाडौं । काठमाडौं उपत्यकाभित्रका बागमती र यसका सहायक नदीनालालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सरकारी निकाय खडा भएको ३२ वर्ष पूरा हुँदा नदी स्वच्छ हुन सकेको छैन ।
नदीनालालाई स्वच्छ बनाएर यसका किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका धरोहरको जगेर्ना गर्न २०५१ चैत २८ गते तत्कालीन सरकारले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको थियो । सरकारले यस्तो संरचना बनाएको तीन दशकभन्दा बढी भए पनि बागमती किनारमा ढल मिसाउने कार्य भने रोकिएको छैन । ढलका कारण बागमती कालो देखिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।
समितिको अधिकार एवं कार्यक्षेत्र सीमित भएको भन्दै एक वर्ष पनि नपुग्दै २०५२ मङ्सिर ६ गते अधिकार सम्पन्न बागमती ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिका रूपमा यसको क्षेत्र विस्तार गरिएको थियो । गठन भएको १६ वर्षपछि २०६५ जेठ २६ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति भनी यसको नाममा परिवर्तन गरियो ।
समितिले बागमती नदीको किनारामा बहाव क्षेत्र कायम हुनेगरी पूर्वाधार निर्माणका कामजस्तै ढल, सडक, हरित क्षेत्र, तटबन्ध तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा सञ्चालन गर्दै जाने उद्देश्य रहेको समितिका सूचना अधिकारी उद्धव नेपालले बताउनुभयाे । सचेतनामूलक कार्यक्रमको माध्यमबाट आम सरोकारवालामा नदीको बढ्दो प्रदूषणप्रति चासो र चिन्ता जगाउनु पनि समितिको उद्देश्य रहेको उहाँले सुनाउनुभयाे ।
हिन्दुको पवित्र तीर्थस्थल एवं सभ्यताको प्रतीकको रूपमा रहेको बागमती नदी पछिल्लो चार दशकयता मानवीय अतिक्रमणको कारणले प्रदुषणको चपेटामा परेको छ । मुलुकको अमूल्य निधिको अस्तित्व नै संकटमा परेपछि सचेत नागरिक समाजको चर्को दबाबका साथै सरकारी क्षेत्रबाट उच्च प्राथमिकताका साथ नदी प्रदूषणमुक्त गर्ने कार्यको थालनी गर्नु नै वर्तमान समितिको अस्तित्वको आधारशिला रहेको सूचना अधिकारी नेपाल बताउनुहुन्छ ।
राजधानीको बढ्दो जनसङ्ख्या, अनियन्त्रित सहरीकरण, अव्यवस्थित ढल निकास र औद्योगिक एवं अन्य फोहरमैला निस्कासनको सम्पूर्ण विकृति व्यहोर्न बाध्य बनाइएको बागमती नदीको शुद्धीकरणको लागि समिति बनेको तीन दशक पूरा भए पनि अझै लक्ष्य भने नभेटिएको काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीले बताउनुभयाे । महानगरपालिकाले नदी स्वच्च बनाउन सहयोग गर्न खोजे पनि सम्बन्धित निकायले भने कम चासो दिने गरेको उहाँको भनाइ छ ।
समितिको नाम परिवर्तनसँगै कार्यक्षेत्र पनि बागमती नदीको उद्गमथलो शिवपुरी जलाधारदेखि चोभारसम्मको नदीलाई स्वच्छ र सफा राख्न काम गर्ने भनी थपिएको पनि दशकौं भइसकेको छ । बागमती नदीमा कुनै प्रकारको दूषित (ठोस वा तरल) पदार्थ मिसाउन नपाउने र कुनै तरल पदार्थ मिसाउनै परेमा पानी प्रशोधन गरेर मात्र मिसाउन पाउने व्यवस्था गर्नको निमित्त नदी किनारामा ढल निर्माण गर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ । तर समितिको कार्यालय रहेको ५० मिटरकै दुरीमा रहेको गौरीघाटमा ढल मिसिँदा पनि समिति मूकदर्शक बनेको छ ।
काठमाडौं उपत्यकाका नदीमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण, सञ्चालन तथा सम्भार गर्ने, नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने, नदी किनारामा आवश्यकताअनुसार सडक निर्माण र वृक्षरोपण गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ तर विगत एक वर्षअघिदेखि नै समितिको नेतृत्व रिक्त रहेको पनि सूचना अधिकारी नेपालले बताउनुभयाे ।
काठमाडौं उपत्यकाका अन्य नदीको बहावक्षेत्र र हरितक्षेत्र अतिक्रमण भइरहेकाले त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि नाममा विभिन्न मितिमा गरिएको परिवर्तनसँगै समितिलाई नै दिइएको छ । तर समितिले सुरू गरेका काम पनि सम्पन्न हुन नसकेको भनी संसद्मै आवाज उठ्न थालेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रमा कोइराला पौडेलले भक्तपुरको हनुमन्ते नदी किनारमा ढल बिछ्याउन सुरू गरे पनि अलपत्र छोडेको भन्दै छिटो पूरा गर्न सरकार भएका निकायको ध्यानाकर्षण गराउनुभयाे ।
ढल सिधै बागमतीमा
बागमती सफाइ महाअभियान सुरू भएको १३ औँ वर्ष प्रवेश गरेको छ । सफाइ महाअभियान हिँड्दै छ- पाइला मेट्दै छ भनेजस्तै जति सफा गरे पनि नसकिने अवस्थामा पुगेको छ । चाबहिल पिपलबोटबाट झारिएको ढल सिधै पशुपति क्षेत्रस्थित गौरीघाटमा ढल मिसाइएको छ ।
२०७० जेठ ५ गतेदेखि सुरू भएको सफाइ महाअभियान सोमबारदेखि १३औँ वर्षमा प्रवेश गरेको हो । बाह्र वर्षसम्म सफाइ गर्दा पनि बागमती भने कालो देखिन्छ । अझ पशुपतिनाथ मन्दिरको माथि गौरीघाटमै ढल मिसिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । यहाँबाट अधिकार सम्पन्न बागमती समितिको कार्यालय करिब ५० मिटरको मात्र दुरीमा रहेको छ ।
माता पार्वतीको तपस्थली गौरीघाटसँगैको बागमती नदीमा सिधै ढल मिसाइएको आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछानेले बताउनुभयाे । काठमाडौं महानगरपालिका–७ द्वारा चाबहिल गौरीघाट हुँदै पिपलबोट सडक ढलानको क्रममा कम क्षमताको ढल बिछ्याउँछदा ढलको ओभरफ्लो साइड ड्रेनमा जोडेर सिधै बागमतीमा पठाइएको उहाँको भनाइ छ ।
पशुपतिनाथ मन्दिरभन्दा माथिको बागमती नदीमा ढल मिसाएपछि सम्पदाप्रेमी, बागमती सफाइका अभियानकर्मी सरोकारवालाले यसको विरोध गरेका छन् । ढलको साइज सानो र नियमित सरसफाइ नभएपछि गौरीघाट चोकबाट गुह्येश्वरीको फोहर पानी प्रशोधन केन्द्रतर्फ पठाइएको ढलको फोहर पानी सिधै गौरीघाटमा झर्न थालेको छ ।
यसअघि महानगर–७ का वडाध्यक्ष विमलकुमार होडाले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा ७२ इन्चको ढल बिछ्याउन माग राखी निवेदन दिनुभएकाे थियाे । यसलाई कार्यान्वयनको निम्ति ताकेता नगरी ढल मिसाइएको भन्दै सम्पदाप्रेमीले आपत्ति जनाएका छन् । वडाध्यक्ष होडा भने ढलमा ओभर फ्लो भएर र आकाशेपानी बढी भएर बागमतीमा ढल मिसिएको स्वीकार्छन् । यसका लागि जिम्मेवारी तोकिएको अधिकार सम्पन्न बागमती समितिले केही नगर्दा यस्तो अवस्था आएको उहाँको भनाइ छ ।
