वाघ दिवस : २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धतामा आशावादी नेपाल

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैँ। आज विश्व वाघ दिवस । यस वर्षको विश्व बाघ दिवस कोरोना महामारीका कारण नेपालमा आज सामान्यरुपमा मनाइँदै छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना गरेको छ ।

यसबाहेक बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको विभागले जनाएको छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो ।

जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।