सरकारलाई विश्व ट्रेड युनियन महासंघकाे ७ बुँदे ध्यानाकर्षण पत्र

पढ्न लाग्ने समय : मिनेट

श्रमिकको समस्या समाधानका लागि विश्व ट्रेड युनियन महासंघ, संयोजन समितिले श्रम रोजगारी तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघको अध्यक्षमण्डलका सदस्य प्रेमलकुमार खनालकाे नेतृत्वकाे टाेलीले विश्वभरका श्रमिक संगठनले अघि सारेको अभियानप्रति ऐक्यबद्धता जनाउँदै मन्त्री यावदलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।

अध्यक्षमण्डलका सदस्य खनालको अध्यक्षतामा काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिले अमेरिकालगायतका विभिन्न ट्रेड युनियनप्रति ऐक्यबद्धता जनाएको छ।

समितिले कोभिड–१९ ले विश्वभरिका श्रमिकमाथि पारेको प्रभाव न्यूनीकरणमा समेत सरकारकाे ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्रमा दैनिक रोजगारी गरी खाने श्रमिकलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने, संकटका बेला बेरोजगारलाई राहत दिन एक खर्बको कोष स्थापना गर्नुपर्ने, विदेशमा बसेर श्रम गर्ने श्रमिकको सुरक्षाका लागि सरकारले सम्बन्धित राष्ट्रसँग आवश्यक समन्वय गरी अन्तर्राष्ट्रिय मान्यता अनुसार कोभिड १९ बाट प्रभावित श्रमिकलाई समानताको आधारमा व्यवहार गर्नुपर्ने, सर्वसाधारणलाई सहज हुने गरी उपभाेग्य वस्तुको आयात गर्न र मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, कोरोना भइरसको संक्रमण नियन्त्रणका लागि परीक्षण दायरा बढाउनुपर्ने, कृषि उत्पादन बढाउन र औषधिको आपूर्ति व्यवस्थित गर्न महासंघले श्रममन्त्री यादवमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराइएको उल्लेख छ ।

कार्यक्रममा महासंघका सीडिई मोहनमान स्वारले कोरोना भाइरसको महामारीका बेला विश्वभरकै श्रमिक प्रभावित भएकाले धनी राष्ट्रहरुले आवश्यक राहत दिन सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।