Advertisement

खेलाडीलाई खोपका लागि पहल सुरू

पदक विजेता खेलाडीलाई कोभिड १९ विरुद्धको खोपका लागि पहल सुरू


गण्डकी । प्रदेश खेलकुद परिषद, गण्डकीले प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा सहभागी र १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई कोभिड १९ विरुद्धको खोपका लागि पहल सुरू गरेको छ ।

परिषदको बुधबार पोखरामा सम्पन्न बैठकले कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधिलाई चलायमान गर्न खोपका लागि पहल सुरू गर्ने निर्णय गरेको हो ।

परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले बैठकबारे जानकारी दिँदै भन्नुभयो, ‘‘खेल क्षेत्र अब टुलुटुलु हेरेर बस्न सक्दैन, खेलाडी र प्रशिक्षकलाई हामी मैदानमा उतार्न चाहन्छौ तर त्यो भन्दाअघि खोप हाम्रा लागि अनिवार्य हुन्छ ।’’

खेलाडीसँगै सबै जिल्ला खेलकुद विकास समितिका सदस्य र प्रशिक्षकलाई समेत कोभिडविरुद्धको खोपका लागि पहल सुरू गरिएको उहाँको भनाइ छ । परिषदको बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा साहसिक खेलको अध्ययन तथा परामर्शका लागि वसन्तराज दवाडीको संयोजकत्वमा तिन सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको सदस्यमा परिषदका सदस्य गिरमान गुरुङ र केशव पाठक रहनुभएको छ । बैठकले असारको दोश्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षक उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement