Advertisement

नेपालमा गाँजा खुला गर्नुपर्ने विषयले प्राथमिकता पाउने संकेत


काठमाडौं । संयुक्त राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाएको छ ।

लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोग (यूनसीएनडी) ले बुधबार बहुमतका आधारमा गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो ।

भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा बुधबार भएको मतदानमा यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ मुलुकले पक्षमा र २५ ले विपक्षमा मतदान गरेका छन् ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा नेपालले पनि मतदान गरेको छ । त्यस्तै पक्षमा मतदान गर्नेमा अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायत मुलुक छन् ।

जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए ।

मतदानमा युक्रेन भने अनुपस्थित रहेको थियो ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदै यसको औषधिजन्य गुण र वनस्पतिका रुपमा लिने विषयको वकालत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

‘औषधीय उद्देश्यका लागि गाँजा उपयोग गर्ने लाखौै मानिसहरू यस खबरलाई स्वागत गर्छन् र यसले गाँजाबाट बन्ने औषधीय उत्पादनको बढ्दो बजारलाई प्रतिबिम्बित गर्छ,’ औषधि नीति पैरवी समूहहरूले विज्ञप्तिमार्फत भने ।

राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो ।

 

नेपालमा गाँजाकाे प्रतिबन्ध फुकुवा गर्ने बाटो खुल्याेः पूर्वमन्त्री तामाङ

यता, नेकपाका सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजालाई संयुक्त राष्ट्रसंघले औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राखेपछि प्रतिबन्ध फुकुवा गर्ने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएकाे छ ।

सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै सांसद तामाङले अब नेपालमै कानून बनाएर प्रतिबन्ध फुकुवा गर्दै नियमनको बाटोमा जानुपर्ने बताउनुभएकाे हाे। यसअघि सांसद तामाङले गाँजामाथिको प्रतिबन्ध फुकाउन र नियमनको कानूनी व्यवस्था गर्न संसदमा गैरसरकारी विधेयक दर्ता गराउनुभएकाे थियाे ।

‘गाँजा खेतीको कानूनी मान्यताको लागि हामीले जुन बहस सञ्चालन गर्दै संसदमा गाँजा खेतीको कानूनी मान्यताको लागि गैरसरकारी विधेयक नै दर्ता गरेका छौं । अब यसको लागि बाटो खुल्ला भएको छ,’ उहाँ लेख्नुहुन्छ, ‘हरेक नेपालीलाई र सिङ्गै राष्ट्रलाई धनी बनाउन सक्ने गाँजालाई अब कानून बनाएर हामी खुल्ला गर्नेछौं ।’

संयुक्त राष्ट्रसंघकाे बुधबार भएको मतदानमा गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउनुपर्ने पक्षमा नेपालले पनि मतदान गरेसँगै नेपालमा गाँजा खुला गर्नुपर्ने विषयले प्राथमिकता पाउने संकेत देखिएकाे छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement