Advertisement

धनकुटामा दिनदहाडै बलात्कारका दुःखद घटनाहरू


सन्तोष रुचाल, धनकुटा । बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रैको हाडनाता पर्नेलाई बलात्कार गरेको आरोपमा अर्का युवालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका–१ निगालेकी १५ व्र्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय विमल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताउनुभयो ।

सोही बालिकालाई बलात्कार गरेको आरोपमा गत बुधबार निगालेकै १९ वर्षीय निकेश तामाङलाई प्रहरीले पक्राउ गरिसकेको थियो । ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाली घरमा लगेर बलात्कार गरेको र त्यसको भोलिपल्ट विमलले पनि उनैलाई बलात्कार गरेको आरोप छ ।

निकेशले ती बालिकासँग शरीरिक सम्पर्क भएको कुरा विमललाई सुनाएपछि उनले पनि भोलिपल्ट जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका राति पनि घरमा नआएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको थियो ।

घटनाको ९ दिनपछि निकेश र ११ दिनपछि विमल पक्राउ परेका हुन् । मुलुकी अपराध संहिता–२०७४ मा १८ वर्षभन्दा कम उमेरका बालिकालाई सहमतिमै शारीरिक सम्पर्क गरे पनि जबरजस्ती करणी गरेको मानिने र १४ वर्षदेखि १६ वर्ष भित्रका बालिका करणी गर्नेलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

यता हाडनाता करणी आरोपमा धनकुटाको पाख्रीबासबाट एक युवक पक्राउ परेका छन् । परिवार भित्रकै महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंमा बसेका बेला करिब ११ महिनाअघि उनले आफन्तलाई जबरजस्ती करणी गरेको आरोप छ ।

आरोपितलाई पक्राउ गरी काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताउनुभयो ।

काठमाडौमै घटना भएको र उतै मुद्दा दर्ता भएकाले उनलाई पक्राउ गरी पठाइएको हो । परिवार भित्रकै घटना भएकाले पीडकको परिचय खुलाउँदा पीडितको परिचय पनि खुल्ने हुनाले प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement