Advertisement

बुढानीलकण्ठमा १ हजार ९ सयले लगाए खोपः बिहीबारको खोप कार्यक्रम स्थगित

चाइनिज भेरोसेल खोप आवश्यक मात्रामा आपूर्ति हुन नसकेपछि बिहीबार हुने कार्यक्रम अनिश्चितकालका लागि स्थगन


काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाले आज १ हजार ९०८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । तिनमा महिला ९ सय ९६ र पुरुष ९ सय १२ छन् । चाइनिज भेरोसेल खोप आवश्यक मात्रामा आपूर्ति हुन नसकेपछि बिहीबार हुने कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

मङ्गलबारदेखि सुरू भएको खोप कार्यक्रममा सो दिन १ हजार ४ सय ९ जनाले लगाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले मागअनुसारको खोप उपलब्ध गराउन नसकेपछि यही जेठ २७ गतेको निर्धारित खोप कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ को वैठकले जेठ २५ देखि २७ गतेसम्म ६०–६४ वर्ष उमेर समुहका नागरिकलाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा दिइने निर्णय गरेको थियो । सोहीअनुरूप बुढानीलकण्ठ नगरपालिकाले तीन केन्द्रबाट सोमबार, मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख दाहालका अनुसार वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं. ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल, मण्डिखाटार र वडा नं १० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयको खोप केन्द्रबाट दुई दिनमा ९ सय ९६ पुरुष र ९ सय १२ महिलालाई खोपको पहिलो मात्रा उपलब्ध गराइएको छ । खोपको आवश्यक कति मात्रा उपलब्ध हुन नसकेको हो भन्नेबारे भने नगरपालिकाले केही प्रष्ट पारेको छैन ।

यसअघि नगरपालिकाका २ हजार ९ सय ७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल ५ हजार ५ सय २० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । आफ्नै देशभित्र फैलिएको महामारीका कारण भारतले यो खोपको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिने समयसीमा घर्किनै लाग्दा पनि अन्योल यथावत् छ ।

संक्रमणबाट थप एकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट नगरपालिका क्षेत्रमा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं १ का एक पुरुष रहेको जनस्वास्थ्य महाशाखा प्रमुख दाहालले पुष्टि गर्नुभयो । यससँगै नगरपालिका क्षेत्रमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ जसमा ८ महिला र १२ पुरुष छन् ।

नगरपालिका क्षेत्रमा संक्रमितका नयाँ केस भेटिने क्रम यथावत् छ । बुधबार १७ महिला र २२ पुरुष गरी ३९ संक्रमित भएको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ, ४१ जना भने पछिल्लो २४ घण्टामा कोरोना जित्न सफल भएका छन् ।

यससँगै नगरपालिका क्षेत्रमा कोरोना जित्नेको संख्या १ हजार ८ सय ७८ र सक्रिय संक्रमितको संख्या ४ सय २५ भएको छ । सक्रिय संक्रमितमध्ये ३ सय ८२ जना होमआइसोलेशन र ४३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement