Advertisement

शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा


काठमाडौं । बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा परेको छ । विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ तर सरकारका निकायहरूले निर्णय लिन सकेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिस गरेको छ । सीसीएमसींं र मन्त्रिपरिषद्मा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन ।

शिक्षा मन्त्रालयले कोरोनाको जोखिम बढे पालिकाहरूले विद्यालय बन्दको निर्णय लिन सक्ने दोहोर्‍याएको छ । तर कोरोना संक्रमित भेटिएका र बढी जोखिममा रहेका पालिकाले शिक्षण संस्था बन्दको निर्णय लिएका छैनन् ।

संक्रमित बालबालिकाको संख्या बढेपछि छोराछोरीलाई स्कुल पठाउन छाडेको अभिभावक ज्ञानेश्वर अर्यालले बताउँनु भयो । निजी विद्यालयले स्कुल बन्द नगराउन सरकारलाई दबाब दिएका छन्,’ उहाँले भन्नुभयो, ‘सरकारका निकायले निर्णय लिन सकेनन् । बालबालिकाको ज्यान जोखिममा राखेर स्कुल पठाउन चाहेनौं ।’

शिक्षा मन्त्रालयले गत वर्ष संक्रमण बढे बन्द गर्न र संक्रमित शून्य भए खोल्न सकिने गरी विद्यालय पुनःसञ्चालन कार्यविधि ल्याएको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले उक्त कार्यविधिअनुसार पालिकाहरूले विद्यालय बन्द गर्ने र खोल्ने निर्णय आफैं गर्न सक्ने औंल्याउँनुभयो ।

‘विद्यार्थी, शिक्षकमा कोरोना संक्रमण भए विद्यालय आफैंले बन्द गराउन सक्छ, भयावह अवस्था आउने सम्भावना देखिए पालिकाले पनि आफ्नो शिक्षण संस्था बन्द गराउन सक्छन्,’ उहाँले भन्नुभयो, ‘मन्त्रालयले कार्यविधि पालना गर्न सबैलाई आग्रह गरिरहेको छ, देशभरका शिक्षण संस्था बन्द गराउनुपरे सीसीएमसी वा मन्त्रिपरिषद्बाटै निर्णय हुन्छ ।’

शिक्षा मन्त्रालयले वायु प्रदूषणमा मुलुकभरका विद्यालय बन्द गर्ने निर्णय गर्दा पालिकाहरूले अवज्ञा गरेका थिए । पुनः देशभरका विद्यालय बन्द गर्दा अवज्ञा हुन सक्ने आकलन गर्दै शिक्षा मन्त्रालय निर्णय लिन हच्किएको हो ।

मन्त्रालयले गत साता गरेको छलफलमा नगरपालिका महासंघका अध्यक्ष अशोक व्याञ्जुले विद्यालय बन्द गर्ने र खोल्ने अधिकार पालिकालाई सुम्पनुपर्ने धारणा राख्नुभएका थिए । जुन क्षेत्रको विद्यालयमा बढी प्रभाव पर्छ, त्यहींको मात्र विद्यालय बन्द गर्नुपर्ने उनको तर्क थियो ।

माध्यमिक तहसम्मको पालिकाको अधिकारमा हस्तक्षेप नगर्न उहाँले आग्रह गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement