Advertisement

नेता पाण्डेमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न नेकपा नेताहरुकाे माग


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डेमाथि सुनियोजित रुपमा दुर्व्यवहार गरिएको आरोप लगाउँदै संलग्नलाई कारबाहीको माग गर्नुभएकाे छ ।

शनिबार साँझ विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भर्त्सना गर्नुभएकाे हाे ।

‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपायहरु खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहने नेता कार्यकर्ता सबैलाई आग्रह समेत गर्नुभएकाे छ ।

यसअघि पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पनि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीको निन्दा गर्नुभएकाे छ ।

उहाँले कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भन्दै उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारबाही गर्न गम्भीर ध्यानाकर्षण गराउनुभएकाे हाे ।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गर्नुका साथै हो–हल्ला गरेका थिए।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement