दक्षिण अफ्रिकामा ५ लाख बढी कोरोना संक्रमित, राजधानी नै कोरोनाको इपिसेन्टर

पढ्न लाग्ने समय : मिनेट

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा १० हजार १०७ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार २९० पुगेको हो । संक्रमितको यो संख्या विश्वमा पाँचौँ धेरै हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा दक्षिण अफ्रीकामा कोरोनाबाट १४८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ हजार १५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३ लाख ४२ हजार ४६१ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ५२ हजार ६७६ जना उपचारारत छन् ।

उनीहरूमध्ये ५३९ जनाको अवस्था गम्भीर छ । राजधानी प्रिटोरियाको आसपासको क्षेत्र कोरोनाको इपिसेन्टर बनेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीहरू चिन्तित भएका छन् ।

कोरोनाको सुरूआतमा गत अप्रिलदेखि मे सम्म दक्षिण अफ्रिकामा लकडाउन गरिएको थियो । तर, अर्थव्यवस्था चलायमान बनाउन भन्दै लकडाउन खुकुलो बनाइएपछि त्यहाँ संक्रमण बढ्दै गएको छ ।