Advertisement

नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदैछः सोथली डाँडा

कतै भ्रमण अवलोकन त कतै अनुसन्धान तथा अन्वेषण भने कतै धार्मिक कार्यको लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइमा


उद्धव विश्वकर्मा, दोलखा । दोलखा एक हिमाली जिल्ला मात्र होइन, तर एक विश्वसामु पर्यटकीय गन्तव्य स्थलको रूपमा पनि उत्तिकै परिचित छ ।

जिल्लाका विभिन्न मठमन्दिर गुम्बा हिमश्रृङ्खला लगाएत बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणस्थल लामाबगर, गोङ्गर लगाएयतका ठाउँहरूले प्रशस्त पर्यटकहरूलाई आकर्षण गर्ने गरेको छ ।

सैलुङ थुम्का, कालिन्चोक भगवती, दोलखा भिमेश्वर, बिगु, गुम्बा लप्ची गुम्बा च्छोँ–रोल्पा हिमताल तथा स्वीटजरल्याण्डको ज्युरिच सहरको उपनामले परिचित जिरी बजार लगाएतका पर्यटकीय स्थलका आफ्नै विशेषता रहँदै आएको छ । कहीँ–कतै भ्रमण अवलोकन त कतै अनुसन्धान तथा अन्वेषण भने कतै धार्मिक कार्यको लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइमा दोलखा जिल्ला पर्दै आएको छ ।

दोलखा जिल्ला नयाँ पर्यटकीय गन्तव्यको रूपमा पनि विकास हुँदै आएको छ । तीमध्येको एक होः दोलखा जिल्लाको गौरीशंकर गाउँपलिका ८ स्थित सोथली डाँडा । समुद्र सतहबाट ३३५० मीटरको उचाईमा अवस्थित सो क्षेत्र पर्यटकको नयाँ गन्तव्यको रूपमा विकास हुँदै गरेको अवस्थामा छ ।

काठमाडौंदेखि सिङ्गटीसम्म पक्की मोटर यात्रा गर्न सकिने र सिङ्गटी बजारबाट करिब १६ कि मी कच्ची सडक हुँदै सुर्लिङ गिरपानी, बाघखोर, गब्नासो हुँदै ४ घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिने सोथली डाँडाको पनि आफ्नै किसिमको फरक विशेषता रहेको कारण केही विदेशी र प्रशस्त स्वदेशी पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।

सोथली डाँडा पर्यटकको मुख्य रोजाईमा पर्नुको मुख्य कारण

सोथली डाँडालाई केही दशकअघिदेखि नै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको निमित्त अनुसन्धान, पहल र प्रयास हुँदै आए तापनि खानेपानीको अपर्याप्तताको कारणले कुनै पनि नयाँ मोड लिन सकेको थिएन भने आकाशेपानीलाई ड्रममा सङ्कलन गरी खानेपानीको अपर्याप्तलाई पूर्ति गर्ने व्ययवस्था गरेको छ ।

हाल सोथली डाँडा पर्यटकको मुख्य रोजाईमा पर्नुको मुख्य कारण विशेष गरी अग्लो डाँडा, समथर भू–भाग, पवित्र तीर्थस्थल सोथली देवीको दर्शन, साथै लेकाली वन्यजन्तु र प्राकृतिक दृश्य अवलोकन तथा स्वदेशी तथा विदेशीको भ्रमणको रुचिमा पर्न सफल च्छोँ–रोल्पा हिमातालको प्रवेशमा छोटो दुरिको पैदलमार्ग रहेकै कारण सोथली पर्यटकीय चर्चाको शिखरमा छ ।

हाल सो क्षेत्रमा पर्यटकीय पैदल मार्ग निर्माण, यस आसपास कुनै पनि बस्ती नरहेको कारण पैदल यात्रीहरूलाइ बास बस्नको लागि होमस्टे लगाएतको पुर्वाधार निर्माण कार्य सम्पन्न भइसकेका छन् ।

अब यस क्षेत्रको तीब्र विकासको लागि लकडाउनको समाप्तिसँगै प्रचारप्रसारमा व्यापकताका साथ स्थानीय तहको तर्फबाट लागिपर्ने र पर्यटकीय हबको रूपमा विकास गर्ने गौरीशंकर गाउँपालिका वडा ८ का अध्यक्ष उदयबहादुर खड्काले जानकारी दिनुभएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement