Advertisement

सम्झनामा दशैं


अर्जुन आचार्य । सन् २०१४ को अन्त्यतिर विदेशिएसँगै जिन्दगीमा एउटा नयाँ मोड र छुट्टै आयाम भित्रिएको आभाष हुन्छ !

त्यसो त सबैको जिन्दगीका आफ्ना भोगाइहरू हुने गर्दछन् ! कति लेखिन्छन् र कथा बन्दछन् कति नलेखिएर व्यथा बन्दछन् !

आज आफ्नो बाल्यकालको दशैंलाई स्मरण गर्ने अनुमतिसहित केही कुरा लेख्न चाहन्छु ! जब–जब चाडबाड नजिकिन्छन्, तब–तब यो मनमा कता–कता चिसो पस्दछ !

सानोमा वर्षात् सकिएर हिउँद सुरू हुँदा सफा आकाश खुलेर घाम लाग्दा दशैंं घाम भनेर चारैतिर निलो आकाशलाई म मरीमरी हेर्ने गर्थें ।
दशैंंमा गाउँलेहरू सबै मिलेर बाटोघाटो सफा गथ्र्यौं ! म त्यही बाटोमा दशैंं देख्थें ! गाउँमा सबै मिलेर खसी काट्थे ! लाहुर गएकाहरू दशैंंमा फर्किन्थे !

घरमा दिदीबहिनी नभए पनि आफैले असार साउनमा खोजेर तिहारमा माला बनाउन लगाएका मखमली र सयपत्रीले कोपिला लगाउँदा अब दशैंं पक्का आउँछ भन्ने लाग्थ्यो ।

छिमेकीका छोराछोरीले पो आफूभन्दा छिट्टै नयाँ लुगा लाउने हुन् कि भनेर उनीहरूमाथि आँखा गइरहन्थ्यो ।

वर्ष दिनमा बल्लतल्ल आमा–बाले किनी दिनुभएको दशैंंका लुगाको बास्ना हप्ता दिनसम्म एक्लै लुकेर सुँघ्ने गर्थें ।

सुन्तलाको हाँगामा बन्सो (एक प्रकारको घाँस) को रसीको पिङ्मा दशैंं झुन्डिरहेको देख्थेँ ! दशैंको फूलपाती भित्र्याउँदा बजाएका बाजाले पक्का दशैं आएको झल्को दिन्थ्यो ! अष्टमी, नवमी कोतमा राँगा पाठाको बलि दिन्थे; बिहानैबाट हेर्न गइन्थ्यो ! (अहिले बलि प्रथालाई समर्थन गर्दिन) ।

टीकाको दिन छोरा मान्छेलाई टीका लगाएर दक्षिणा दिने चलन थिएन फेरि पनि कसैले २/५ रुपैयाँ दिनु पो हुन्छ कि भनेर मुख मुखमा हेर्थें ।

छोरालाई पैसा पाउन मामाघरै जानुपर्थ्याे  । आफ्नो त टाढा थियो ! एक्लै जान नसकिने २ वटा खोला तर्नुपर्ने ! साथीहरूको मावली नजिक भएको देख्दा मन क्या चुङचुङ हुन्थ्यो !

कहिलेकाहीँ दशैंमा टीका थाप्न आमासँग मामाघर गएर जम्मा भएको पैसा कसैले नदेख्ने गरी १० चोटी गनेर पचास रुपैयाँ हुँदा पनि म आफूलाई साँच्चै पैसावाल सम्झन्थेँ । नातेदारले टीका लगाउँदै ठूलो मान्छे बन, भनेर दिएको आशिष् कान थापेर सुन्थेँ । मलाई लाग्थ्यो मलाई त्यो आशीर्वाद त्यही बेलादेखि लाग्दैछ !

अर्जुन आचार्य

दशैंको एउटा स्मरण छ !

एसएलसीपछि म उच्च शिक्षाको लागि शहर आउँदा साउन महिना थियो ! त्यतिबेला हो मैले पहिलो पटक अस्थाई बसाईं सरेको ! १५ वर्षको थिएँ ! हजुरआमाको काखमा खेलेर हुर्किएको मलाई अरु कुराको अनुभव भए पनि एक्लै बस्दाको अनुभव थिएन ।

हुन त म पढ्न जान लागेको थिएँ । फेरि २ महिनापछि दशैं आउनेवाला थियो । त्यतिबेला गाउँ फर्किइन्छ भन्ने थाहा पनि थियो । तर किन किन मुटु गाँठो परेको थियो त्यो १७ गतेको दिन ! जब कि घरपरिवारलाई छोडेर मलाई पहिलो पटक वैदेशिक यात्रामा हिँड्दा पनि त्यो खालको महसुस भएको थिएन !

म शहर आएपछिको २ महिना मलाई २ वर्षजस्तो भएको अहिलेजस्तै लाग्छ ! क्यालेन्डरमा पेनले गोलो लगाएर घर जाने दिन गन्ने गर्थें ! अहिले परिस्थिति अर्कै छ ! म सात समुद्रपारि एउटा देशको कुनामा छु ! हिउँदमाजस्तै टहकिलो घाम लागेका छन् !

निलो आकाश पनि उस्तै छ, तातो घाम लागेको छ, मलाई त्यो घामले दशैं दिएन । ठूलो फराकिलो सडक छ, मेरो लागि त्यो बाटोले दशैं बोलाएन ।

तिनै पुराना स्मृतिहरू मानष्पटलमा दौडिरहेका छन् ! तिनै वनपाखा, साथीहरूको याद, अष्टमीको, कालारात्री, पुर्णिमा मेला त्यही मेलामा पाकेका जेरी । ती दिनमा फेरि पुग्न पाए…!

आफ्ना ईच्छा सपना पूरा गर्नको लागि अहिले परदेशिएकाहरूको बाल्यकाल पनि सायद यस्तै थिए होला ! देशमा पर्याप्त रोजगारीको अवशर नहुँदा र भएका सानातिना कामले जीविका नचल्दा अहिले लाखौं युवा अरुको देशमा श्रम बेच्न बाध्य छन् !

धेरै नेपालीलाई आफ्नो परिवारसँग चाडपर्व मनाउने ईच्छा छ ! सबैले देशको भलो चाहन्छन् ! आश्वासनको पोका बाँढेर यो गर्छु र त्यो गर्छु भन्दै चुनाव जितेर गएकाहरूलाई प्रश्न गर्छन् ‘आखिर कहिलेसम्म हामी अर्काको देशमा पसिना बगाउनू ?’

व्यवस्था परिवर्तनको नाममा झन्डै १ शताब्दी बित्न लागेछ, तर खै त परिवर्तन ? परिवर्तन केलाई मान्ने ?

पुराना उद्योग कलकारखाना सबै बन्द छन् ! देश वैदेशिक ऋणमा चुर्लुम्म डुबेको छ ! हरेक दिन भ्रस्टाचार र अनियमितताका समाचार मात्रै छन् ! चेलीबेटी सुरक्षित छैनन् ! अरु त अरु जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीको खुलेआम हत्या हुन्छ !

के हामीले गरेको समृद्ध नेपालको परिकल्पना यस्तै हो त ? हुन त यी कुराहरू त्यहाँ जोड्न नहुने हो तर यिनै कारक तत्वले विदेशिन बाध्य बनाएको तीतो यथार्थ हामीबीचमा छ ।

लेख्नुपर्ने र सोध्नुपर्ने कुरा धेरै छन् तर धेरै जनाबाट लेखिए, थुप्रै जनाबाट बोलिए, तर खासै परिणाम केही नदेख्दा आजकल दिक्क लाग्छ ! यस्तो मलाई मात्र होइन धेरैलाई हुन्छ होला ! आफ्नै पार्टी सरकारमा छ त्यही पार्टीको विद्यार्थी नेता सडकमा न्यायको भीख मागिरहेको छ अब भन्नुस्, अरुका कुराको सुनुवाई कति होला खै… यो कुरा यही थाँती राखेर ???

आशा छ यी कुराहरूलाई आगामी दिनमा देख्नु सुन्नुनपरोस् र कसैको आलोचना पनि गर्नुनपरोस भन्ने कामना गर्दछु ! यो कोरोना महामारीमा जहाँ छौं, त्यहीँ बसेर चाडबाड मनाऔं ! आफ्नो गक्षअनुसार चाडबाड मनाउनु उपयुक्त होला !

अर्थतन्त्र ध्वस्त बनेको बेला फजुल खर्च कसैले पनि नगरौं ! विगत ६ वर्षदेखि मेरो निधार पनि खालि नै छ ! परदेशमा रहनुभएकाले नराम्रो नमान्नुहोला !

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सुस्वास्थ, दीर्घायु एवम् उत्तरउतर प्रगतिको कामना गर्दछु !

अर्जुन आचार्य
हालः जापान, टोकियो

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement