Advertisiment

काेराेनाले प्रभाव नपारेकाे टमाटर उत्पादन


सन्तोष रुचाल, धनकुटा । कोरोना भाइरसको महामारीका बावजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ ।

कृषकहरूले सामाजिक दूरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताउनुभयो । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो ।

यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरूले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनुभयो । टमाटरको सिजनमा सहिदभूमि गाउँपालिकाबाट दैनिक १० देखि १२ ट्रयाक्टर टमाटर निर्यात हुँदै आएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न लगाइएको लक डाउन र निषेधाज्ञाको समयमा केही असहजता भए पनि तरकारीजन्य वस्तुको निर्यातमा कुनै रोकतोक नभएका कारण किसानले सामाजिक दूरी कायम गर्दै आफूले उत्पादन गरेका कृषि उपज विक्री वितरण गरी रहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

टमाटर खेतीकाे नमुना शहिदभूमि, धनकुटाका किसान

टमाटर वबक्री गरेर आफुले वार्षिक ४ लाख रुपैयाँ आम्दानी गरेको स्थानीय कृषक नगेन्द्र राईले बताउनुभयो । विगत ५/६ वर्षदेखि व्यवसायिक रूपमा टमाटर खेती गर्दै आउनुभएको राईले ८ हजार किलो टमाटर विक्री गरेर ४ लाख बढी आम्दानी गरेको उनले खुशी हुँदै बताउनुभयो । उहाँले ५० रोपनी जग्गामा टमाटर खेती गर्नुभएको छ ।

टमाटर कृषक राईका अनुसार हरेक वर्ष असार १५ देखि टमाटर टिप्न सुरू गरेर कार्तिक महिनासम्म टिप्न सकिन्छ । कृषकहरूबाट व्यापारीले प्रति केजी ५० रुपैयाँका दरले टमाटर खरिद गर्ने गर्दछन् ।

सो क्षेत्रमा उत्पादिन टमाटर हिलेबजार, धनकुटा बजार, मुलघाट हुँदै तराईका विभिन्न ठूला बजारहरूमा निर्यात हुने गर्दछ । धनकुटाको सबैभन्दा बढी टमाटर खेती हुने स्थान धनकुटा नगरपालिका–९ को बेलहारा, गुठीटार र सहिदभूमि गाउँपालिकाका विभिन्न वडाहरू रहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment