Advertisiment

बाढी पहिरो पीडित परिवारलाई राहत वितरण


सन्तोष रुचाल, धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाद्यान्नसहित राहत स्वरूप आर्थिक सहयोग वितरण गरिएको छ ।

सो गाँउपालिकाको वडा नं. १, २ र ७ का ४१ घरपरिवारलाई खाद्यान्न सामाग्रीसहित आर्थिक सहयोग वितरण गरिएको हो । उक्त रहात, यूएनडीपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनमा वितरण गरिएको हो ।

प्रतिपीडित परिवार ५०/५० केजी चामाल, ४/४ लिटर तेल, ३/३ केजी नून, ३/३ केजी चिनी, ५/५ केजी दाल र २/२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताउनुभयो । यस वर्षको अविरल वर्षाका कारण साँगुरीगढी गाउँपालिका–१ बुढीमोरङ सालबोटेका १५ घरपरिवार उच्च जोखिममा रहेको वडाध्यक्ष तिलकबहादुर लिम्बुले बताउनुभयो ।

अहिले वडाको सालबोटे टोलका करिब १५ घर परिवारको वर्षौंदेखि खेतीपाती गर्दै आईरहेको पाखाबारी पहिरोले चिरा–चिरा बनाएको छ । पहिरोका कारण जमीन दिन दिनै भाँसिएपछि खेतीपाती लगाउन पनि नपाएको स्थानीय बादीमाया लिम्बूले बताउनुभयो ।

आफ्नो ४१ रोपनी जग्गा पहिरोले तानेपछि कमाई लाउन नपाएको लिम्बूले गुनासो गर्नुभयो । पहिरोले घर नै जोखिममा पारेपछि सरकारले अन्यत्रै सुरक्षित स्थानमा घर बनाउने व्यवस्था मिलाई दिन आग्रह समेत उहाँले गर्नुभयो ।

राहत लिन आउनुभएकी सोही स्थानकी मनमाया मगरले पनि आफ्नो १२ रोपनी पाखाबारी कमाई लगाउन नमिल्ने गरी भत्केर गएको बताउनुभयो । उहाँको पनि घर एकपट्टी चर्किएको छ ।

सो क्षेत्रका पहिरो पीडितहरू सबै अहिले जोखिम मोलेर बसिरहेका छन् । तमोर करिडोरको बाटो बन्न थालेपछि त्यस क्षेत्रमा पहिरो जान थालेको स्थानीयले बताएका छन् ।

साँगुरीगढी गाउँपालिकामा ४१ घरपरिवार बाढी पहिरोबाट पीडित भएपछि उनीहरूको व्यवस्थापन र सुरक्षाको लागि आवश्यक पहल गर्न केन्द्र र प्रदेश सरकारसँग छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाले बताउनुभयो ।

बाढी पहिरो पीडित परिवारका लागि विभिन्न सहयोगका कार्यक्रम र जोखिमपूर्ण बस्तीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न पहल भइरहेको गाउँपालिकाका प्रवक्ता बालकृष्ण राईले बताउनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment