पुनरकर्जा कार्यविधि संशोधन गर्ने तयारीमा राष्ट्र बैंक

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक पुनरकर्जा  कार्यविधि संशोधन गर्ने तयारीमा जुटेकाे बताउनुभएकाे छ।

साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव परेका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुनेगरी राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढंगले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयाे।

साथै ६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइने गर्भनर अधिकारीको भनाई छ।

चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेसमेत उहाँले जानकारी गराउनुभयाे । कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउने तयारीमा समेत राष्ट्र बैंक जुटेको छ।

गभर्नर अधिकारीका अनुसार बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने भएको छ। कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने छ। लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइनेछ।