Advertisiment

प्रहरी संगठनको बदनामी गराउने कार्य खेदजनक : गृहमन्त्री


काठमाडाैं । गृहमन्त्री रामबहादर थापाले औंलामा गन्न सकिने त्रुटिगत कमजोरी देखाएर सिंगो प्रहरी संगठनको बदनामी गराउने कार्य खेदजनक रहेको भन्दै प्रहरीलाई कानुन प्रदत्त जिम्मेवारी र अधिकार प्रयोगमा कहिल्यै पछाडि नहट्न निर्देशन दिनुभयो ।

६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

‘दोषजति अरुलाई थुपार्ने, प्रहरीप्रति सदैव नकारात्मक भ्रम छर्ने, यस्तो आलोचनात्मक सोचबाट निर्देशित हाम्रो समाजमा प्रहरीले निर्भिक र दृढताका साथ जिम्मेवारी वहन गर्न सक्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘त्रुटिरहित ढंगले कार्यसम्पादन गर्नुहोस।’

कोरोना संक्रमण महामारीका बीचमा पनि प्रहरीले शान्तिसुरक्षा, अपराध नियन्त्रण र सर्वसाधारण नागरिकको सेवामा पुर्‍याएको योगदान प्रसंशनीय रहेको चर्चा गर्दै विभिन्न समयमा कर्तव्य पालना तथा शान्तिसुरक्षा अमनचयन कायम राख्ने क्रममा ज्यान गुमाउने अमर तथा सहीद प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोना महामारीका कारण यसको वर्षको प्रहरी दिवस औपचारिकतामा मात्र सीमित गरिएको बताउनुभयो ।

कार्यक्रममा संगठनका पूर्व तथा वहालवाला सदस्यहरुलाई आमन्त्रण गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय परिसरमा रहेको अमर तथा सहीद प्रहरी स्मारकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक थापाक्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र पूर्वप्रहरी महानिरीक्षकहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment